मकवानपुरमा सुमो दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

पढिएको १०५४८ पटक

३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो सडकबाट अनियन्त्रित भई भैँसे खोलामा खसेको हो। सुमो सडकको घुम्तीमा नियन्त्रण गुमाएर करिब १० मिटर तल खोलामा खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनालगत्तै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा घाइते र मृतकहरूको उद्धार गरिएको थियो।

उद्धार गरिएका सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेमध्ये तीन जनालाई चिकित्सकले बिहान करिब ९ः२० बजे मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिइएको थियो। दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरूको विस्तृत पहिचानबारे थप विवरण आउन बाँकी रहेको छ।

सुमो कसरी दुर्घटनामा पर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

केशरी न्युज
लेखक
केशरी न्युज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page