पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। कम्पनीले गत असोज ७ गतेदेखि पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको थियो।
एक महिनाको अवधिमा फ्लाइ दुबईले ३० वटा उडान सञ्चालन गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार यस अवधिमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्।
निरौलाले नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो महिनालाई उत्साहजनक रूपमा लिएको बताए। नेपालीहरूको प्रमुख चाड दसैँ र तिहारका कारण दुबईबाट पोखरा आउने यात्रुको संख्या बढेको र पोखराबाट बाहिरिने यात्रुको संख्या पनि क्रमशः वृद्धि भइरहेको उनको भनाइ छ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र दीर्घकालीन बनाउन सरकारी तथा निजी क्षेत्रले संयुक्त रूपमा प्रवर्द्धनात्मक गतिविधि अघि बढाउनुपर्ने उनले बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई सकारात्मक रूपमा लिँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार फ्लाइ दुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरेको छ। पोखरा–दुबई उडानलाई निरन्तरता दिन सहयोग पुर्याएको भन्दै उनले फ्लाइ दुबईको व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरे।
दुबईबाट पोखरा आउने यात्रुको संख्या सन्तोषजनक रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिने आचार्यले बताए। यसका लागि गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न उनले आग्रह गरेका छन्।
व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्नसमेत उनले अनुरोध गरे।
फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै आचार्यले दुबई मात्र नभई त्यहाँबाट जोडिने अन्य अन्तर्राष्ट्रिय सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउनुपर्ने बताए।
विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। कहिलेकाहीँ चार्टर उडान सञ्चालन भए पनि विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित थियो।
लामो प्रतीक्षापछि सुरु भएको फ्लाइ दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस उडानसँगै अन्य वायुसेवा कम्पनीलाई समेत पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आकर्षित गर्ने विश्वास गरिएको छ।















