काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा पोर्चुगल फुटबल महासंघले ३० दिनको प्रतिबन्ध लगाएको छ। महासंघको अनुशासन परिषद्ले सोमबार ४१ वर्षीय फरवार्ड रोनाल्डोमाथिको आरोप पुष्टि गर्दै २५५ युरो जरिवानासमेत तोकेको हो।
प्राप्त विवरणअनुसार, प्रशिक्षक जोर्जे जेसुससँग भूमिकालाई लिएर विवाद भएपछि रोनाल्डोले डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि कोपनहेगनस्थित राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा नउतारेपछि प्रशिक्षकले आफ्नो भूमिकाबारे गरेको प्रतिबद्धता दुई पटक पूरा नगरेको रोनाल्डोको आरोप थियो।
यद्यपि, जेसुसले रोनाल्डोसँग त्यस्तो कुनै सहमति भएको अस्वीकार गरेका थिए। पोर्चुगलले २–१ को जित निकालेपछि भने उनले रोनाल्डोको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना खुला राखेका थिए।
पोर्चुगल फुटबल महासंघको अनुशासन परिषद्ले रोनाल्डोले जानाजानी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै महासंघको अनुशासनसम्बन्धी नियमावलीको धारा १६०(१) अन्तर्गत कारबाही गरेको जनाएको छ। यस घटनासम्बन्धी कारबाही प्रक्रिया अक्टोबर ९ मा अघि बढाइएको थियो।
तर, ३० दिनको प्रतिबन्धले कुन-कुन खेल वा गतिविधिलाई समेट्ने भन्ने विषयमा महासंघले स्पष्ट पारेको छैन। यसअघि अस्थायी प्रतिबन्धमा बिताएको समयलाई अन्तिम सजायमा गणना गरिने वा नगरिने भन्नेबारे पनि खुलाइएको छैन।
घटनापछि रोनाल्डोले नर्वेविरुद्धको खेलपछि समर्थकप्रति अभिवादन नगरेको र टोली छाडेको विषयमा माफी मागेका थिए। उनले आवश्यक सजाय भोगेपछि राष्ट्रिय टोलीबाट खेल्न आफू उपलब्ध रहने बताएका थिए।
पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्साले पनि विवाद समाधान भएपछि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएको हेर्न महासंघभित्र सबै इच्छुक रहेको बताएका छन्।















