विश्वकप लिग–२ मा नेपालको विजयी सुरुवात, क्यानडामाथि २४ रनको जित

पढिएको ५८४८ पटक

काठमाडौं । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

 

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २११ रन मात्र बनाउन सक्यो। क्यानडाका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित पटेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।

 

नेपालका तर्फबाट नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई–दुई विकेट लिए। नेपाली बलरहरूको प्रभावकारी प्रदर्शनका कारण क्यानडा लक्ष्यसम्म पुग्न असफल भयो।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो। नेपालका पूर्वकप्तान रोहित पौडेलले उत्कृष्ट शतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। उनले १२५ बलमा आठ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए।

 

रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो। उनले यसअघि सन् २०२२ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १२६ रन तथा सन् २०२५ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १०९ रन बनाएका थिए।

 

नेपालका लागि गुलशन झाले ४८ रन बनाउँदा बासिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोडे। क्यानडाका बलर अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्द सिंहले तीन र जाहिद शिजादले दुई विकेट हात पारे।

 

क्यानडाविरुद्धको जितसँगै नेपालले लिग–२ सिरिजमा महत्त्वपूर्ण दुई अंक जोडेको छ। अब नेपालले सिरिजको आफ्नो अर्को खेलमा मंगलबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

केशरी न्युज
लेखक
केशरी न्युज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page